• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सीप र क्षमताको भरमा जुनसुकै डाँडाबाट पनि आम्दानी सम्भव : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीप र क्षमता भए देशका जुनसुकै डाँडाबाट बसेर पनि मासिक दुई–तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्।

विपन्न वर्गको उत्थान तथा विकाससम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने कार्यक्रममा बोल्दै उनले यस विषयमा आफ्नो कीर्तिपुरको डाँडासँग जोडिएको अभिव्यक्तिलाई पुनः स्मरण गरे।

“मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईंहरूलाई त्यही प्रसंग याद आउँछ। एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भनेको थिएँ। धेरैलाई रमाइलो लाग्यो होला, तर त्यो सपना मात्रै होइन, सम्भव छ,” उनले भने, “यदि व्यक्तिसँग आवश्यक सीप र क्षमता छ भने त्यो सम्भव हुन्छ। अब हामी ज्ञान आधारित अर्थतन्त्रतर्फ प्रवेश गरिरहेका छौं।

”थापाले चीनको एक उदाहरण दिँदै अहिले त्यहाँको एक युवाले आफैंले विकास गरेको प्रविधिमार्फत च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको उल्लेख गरे।उनले विपन्न वर्गका लागि ल्याइने कार्यक्रमहरू सीप विकाससँग जोडिनुपर्ने आवश्यकतामाथि पनि जोड दिए।“सीपको अर्थ केवल विदेश गइ काम गर्ने मात्र होइन,” उनले भने, “सूचना प्रविधिको अवसर उपयोग गर्न सक्ने खालको सीप हामीले विपन्न परिवारका सदस्यहरूलाई दिन सक्नुपर्छ।”